कविता( कमरेड युद्ध अझै जारी छ )
उही केसमा एउटा दोषी
अर्कोलाई छुट छ
सक्नेले नै लुट्छ यहाँ
उसैलाई ब्रम्हलुट छ
जसको हातमा ठेला छैन
उसकै घरमा भकारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
बन्दुकले नढलेका कमरेड
नैतिकताले ढल्न थाले
संघीयताको खोल ओढी
सयौ श्रीपेच चल्न थाले
शोषण दमन उत्पीडनलाई
अझै पनि छहारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
स्वरोजगारको नाराभित्र
बेरोजगारको लाम छ
भ्रष्टाचार र घुसखोरी
अझै खुलेआम छ
दुखियाको थाप्लो माथि
झनै ऋणको भारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
दलाल र माफियाले
शिक्षा ध्वस्त पारिसके
जनवादी शिक्षा भन्थ्यौ
धनबाद मा सारिसके
आफ्ना सन्तान निजीतिर
गरीबलाई सरकारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
आफै भित्रको सामन्तबाद
ढल्न अझै बाँकी छ
जनताको शासन त
चल्न अझै बाँकी छ
जसलाई विश्वास गर्यो
उही लाचारी छ ।
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
जसका बिरुद्द युद्द लड्यौ
आज उही साथी छ
मोर्चामा आफू भन्दा
अझै उही माथि छ
केही नेता धनाढ्य भयौ
जनता भिखारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
कर्णालीले टाउको दुख्दा
सिटामोल पाको छैन
झुपडीमा अझै पनि
गणतन्त्र आको छैन
सर्वहारा कमरेडको
दरबारमै घरबारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
कहिले रुन्छ कालापानी
कहिले रुन्छ सुस्ता
अझै कति रोई बस्ने
भविष्यको पुस्ता
हट्ने होइन डटी लड्ने
नेपालीको चिनारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
रोग भोक गरीबीले
छट्पटी हटेको छैन
भ्रष्टाचारको जालो पनि
पटक्कै डाँडो कटेको छैन
समृद्धि वारी होइन
अझै क्षितिज पारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
अरु सँग होइन अब
आफैसँग लड्न सिक
एक्लै होइन समृद्धि पथमा
सँगै अघि बढ्न सिक
अन्याय र अत्याचारको
विरुद्ध खबरदारी छ
त्यसैले त कमरेड युद्ध अझै जारी छ ।
२०७६/११/०१
सन्दर्भ : जनयुद्द दिवस


0 comments: