काठमाडौ, जेठ २७ गते । यहाँस्थित पाकिस्तानी राजदूतावासले काठमाडौँ र चितवनका ११० जना विद्यार्थीलाई जनही रु १० हजार छात्रवृत्ति स्वरुप प्रदान गरेको छ । प्रवेशिका र दस जोड दुई परीक्षामा सर्वोकृष्ट अङ्क ल्याएका काठमाडौँका छ र चितवनका दुईवटा सामुदायिक उच्चमाविका क्रमशः ९० र २० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
आज यहाँ आयोजित एक कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापकमार्फत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अर्सद सउद खोसाले भविष्यमा पनि यस्तो सहयोग जारी रहने बताउनुभयो ।
“दुई वर्षअघि थालिएको यो प्रयासलाई भविष्यमा अझ विस्तार गरिनेछ” – पैंतीस जनाबाट सुरु भएको छात्रवृत्ति वितरण सङ्ख्याले १०० नाघेको बताउँदै उहाँले भन्नुभयो । राष्ट्र निर्माणको आधारस्तभ शैक्षिक विकास भएकाले यस क्षेत्रमा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि राजदूत खोसाले व्यक्त गर्नुभयो । रासस


0 comments: