२७ जेठ, काठमाडौं । यतिबेला गाउँठाउँका वन र बगैंचामा लटरम्म आँप पाक्न थालेको छ । लिची, आल्चा, आरुबखडा त झन् जताततै पाइन्छन् । अलि चाँडो पाकेका यी फलफूल छिटै निखि्रए पनि आँप भने अझै एक डेढ महिनासम्म छेलोखेलो नै हुन्छ ।
बोटमा पाकेको होस् या बजारमा सजाएर राखेको, देख्नेबित्तिकै सबैलाई खाउँखाउँ लागिहाल्छ । गर्मीका बेला यस्ता फलफूल खाँदा आँत पनि भरिन्छ । जीउ स्वस्थ र फूर्तिलो पनि हुन्छ । तर, मीठो लाग्यो भन्दैमा जथाभावी खायो भने चाहिँ यही फलफूलले अस्पतालको बास पनि गराउँछ । यही कारण कतिजनाले झाडापखाला, आउँ र हैजा लागेर ज्यान समेत गुमाउने गरेका छन् ।
‘यो सिजनमा बासी र सडेगलेका खानेकुराजस्तै यस्ता फलफूल पनि धेरै खान हुँदैन’ फिजिसियन डा. वासुदेव पाण्डेले अनलाइनखबरसित भन्नुभयो-’ठिक्क खायो भने स्वस्थ र निरोगी भइन्छ, धेरै भए बिरामी बनाउँछ ।’ बोटबाट टिपेर खाँदा र बजारबाट किनेर ल्याउँदा जुनसुकैबेला पनि फलफूलमा ध्यान दिनुपर्ने पाण्डेले बताउनुभयो । ‘काँचो खायो भने पनि बिरामी गराउँछ, जथाभावी पकाएर राखेको फलफूलले पनि फाइदा गर्दैन’- पाण्डेले भन्नुभयो ।
अहिले बजारमा औषधि राखेर पकाइएका आँप छ्याछ्याप्ती पाइने भएकाले यस्तो आँप नखान उहाँको सल्लाह छ । ‘कुन पकाएको र कुन आफैं पाकेको भनेर छुट्याउन त गाह्रो हुन्छ, तर आफूलाई विश्वास नहुँदा नकिनेकै राम्रो’ उहाँले भन्नुभयो । तराई र भारतबाट आउने आँप औषधि राखेर पकाइने भएकाले त्यसले हानी पुर्याउने उहाँले बताउनुभयो ।
बोटबाट टिपेको र बजारबाट किनेको आँप, लिची, आल्चालगायतका फलफूल राम्रोसँग पखालेर मात्र खानुपर्छ । ‘बोक्रा फालेर खानुपर्छ, कुहिएको र सडेगलेको खान हुँदैन’ पाण्डेले भन्नुभयो । उहाँले यस्ता फलफूल पेटभरी नखान पनि सल्लाह दिनुभएको छ । ‘मीठो लाग्यो भन्दैमा जति पनि खान हुँदैन, ठीक्क मात्रै खानुपर्छ ।’
- See more at: http://www.onlinekhabar.com/2013/06/80553/#sthash.WzXYAaPw.dpuf


0 comments: